अछाम ।। अछामको पञ्चदेवल विनायक नगरपालिकामा अस्थायी शिक्षकहरुको पदस्थापनामा मनपरि हुने गरेको गुनासो आएको छ । स्थायी नियुक्त भई सिफारिस भएर आएका शिक्षकहरुको पदस्थापनामा पञ्चदेवल विनायक नगरपालिकाले आपूmखुसी पदस्थापन गर्ने गरेको शिक्षकहरुले गुनासो गरेका छन् । नगरपालिकाले कात्तिक ३० गते गरेको निर्णय अनुसार नगपालिकाभित्र रिक्त रहेका शिक्षक दरबन्दीहरुमा शिक्षा विकास तथा समन्वय ईकाई अछामको प्राप्त पत्र अनुसार स्थायी नियुक्तिसहित सिफारिस भई आएका शिक्षकहरुका लागि सूचना प्रकाशन गरेको थियो । सूचनामा प्रस्ट लेखिएको छ, ‘तपसिलका विद्यालयहरु मध्यबाट आफूले ईच्छाएको विद्यालय रोजी आवश्यक कागजात पेश गर्न अनुरोध गरिन्छ ।’ यता स्थायी शिक्षकहरुले आफूले रोजेको विद्यालयमा पदस्थापना नगरि आफूखुसी पदस्थापन गरेको भन्दै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नगरपालिकाको २०७६ कात्तिक १ गतेको सूचना अनुसार पदस्थापना गरिएका शिक्षकहरुलाई ऐन मापदण्ड अनुसार विद्यालयमा पदस्थापना नगरि नगरकार्यपालिकाले आफ्नै ढङ्गले निर्णय गरि विद्यालय छनोट गरेपछि स्थायी शिक्षक आक्रोशित बनेका छन् । नगरपालिकाले आफूखुसी गरेको निर्णयले अपाङ्ग, महिला, योग्यता अनुसारका शिक्षकहरुलाई समस्या भएको भन्दै आपत्ति जनाएका हुन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम माझीले भने नगरकार्यपालिकाले नै हस्तक्षेप गरेको स्वीकार्दै नगरपालिकाको मनपरिमा सहमति जनाउनुभएको छ ।