बारा, २० असोज ।। बारामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।शनिबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका–८ मा धरानतर्फ जाँदै गरेको प्र १–०–००१ ख ९७९३ नम्बरको बसले ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट मोटरसाइकल चालक कोल्हबी नगरपालिका–३ जुगवा बस्ने २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।बसको ठक्करबाट मोटरसाइकल उछिट्टिएर अटो रिक्सालाई ठक्कर दिएको थियो।

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएका जितपुर सिमरा–१६ का कुल बहादुर थिङ, सानतेन लामा र निजगढ नगरपालिका–१२ का सुकराम बम्जनको उपचार भइरहेको छ ।

बसका चालक र अटो चालकलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए ।