3D Electric power lines over sunrise

काठमाडौ ।। नेपालको विद्युत बङ्गलादेश निर्यात केकसरी हुने भन्ने टुङ्गो दुई महिनाभित्रमा लाग्ने भएको छ । काठमाडौँमा हिजोबाट सुरु भएको सातौँ ऊर्जा सम्मेलनमा बङ्गलादेशका विद्युत, ऊर्जा तथा खनिजमन्त्री नसरुल हमिदले नेपालको विद्युत लैजान जिएमआर, भारत र बंगलादेशबीच दुई महिनाभित्रै खरिद–बिक्री सम्झौता हुने जानकारी दिनुभयो । जिएमआर लिमिटेड इन्डियाले निर्माण गर्न लागेको ५ सय मेगावाटको माथिल्लो कर्णालीको विद्युत बङ्गलादेशले खरिद गर्ने सम्झौता दुई महिनाभित्र हुने भएपछि त्रिदेशीय प्रसारण सञ्जाल सञ्चालनमा आउने निश्चित हुने भएको हो । बङ्गलादेशमा निर्यात हुने र नेपाललाई निःशुल्क दिनेबाहेक बाँकी विद्युत जिएमआरले भारतमा बिक्री गर्ने तयारी गरेको छ । सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेकाले नेपाल–भारतको संयुक्त पहल आवश्यक रहेको बताउनुभयो । भोलिसम्म चल्ने सम्मेलनमा भारत, बंगलादेश, भुटान, चीन, नेदरल्यान्ड, नर्वे, दक्षिण कोरिया, क्यानडालगायत देशका ७ सयभन्दा बढी लगानीकर्ता एवं प्रतिनिधिको सहभागिता छ ।