मंसिर १२ भोजपुर ।। भोजपुरको कावा खोलामा रु. ५ करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल शनिवार ढलेको छ । हतुवागढी गाउँपालिका –२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो ।

पुल ४५ मिटर लम्बाई, ६ मिटर चौडाई र १ दशमलव २० मिटरको दुवै तिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको छ । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएको भएपनि पुल निर्माणको क्रममा ढलेको छ । भोजपुरलाई उत्तर– दक्षिण जोड्ने लक्ष्यका साथ कावा खोलामा पुल निर्माण सुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माण कै चरण ढलेपछि स्थानीय निराश बनेका छन् ।

यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारको तयारी थालिएको थियो  । पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेमा स्थानीयको आशावादी  छन् । यो भोजपुरलाई तराई जिल्लासँग जोड्ने सबैभन्दा छोटो सडक मार्ग पनि हो ।

यहाँ प्रदेश सरकारको पूर्ण लागतमा आठ ओटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई ओटा गरी १० ओटा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन् ।

पुल भत्किएको विषयमा छानबिन गर्न काठमाण्डौबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।