मंसिर २९ डेस्क ।। नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् ।भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् ।

दोस्रो चरणमा सभापतिको लागि भएको चुनावमा देउवाले २७३३ मत ल्याएर विजयी भएका छन् भने कोइरालाले १८५५ मत प्राप्त गरे । यस्तै ३५ मत बदर भयो । सोमबार पहिलोपटक सभापति पदको लागि भएको मदतानको लागि कुनै उम्मेवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार साढे ३ बजे मतदान भएको थियो ।

मतदान राति साढे ९ बजेसम्म चलेको थियो । मतगणना राति सवा ११ बजेदेखि सुरु हुँदा देउवाले लगातार अग्रता बढाउँदै लगेका थिए ।

सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४६२३ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका थिए ।

यसअघि सोमबार भएको निर्वाचनमा सभापति पहिलो चरणको प्रतिस्पर्धामा देउवाले दुई हजार २५८ र कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका थिए ।