९ मंसिर, काठमाडौं । पौराणिक किंवदन्ती अनुसार रामायण कालमा वाल्मीकि आश्रमसँग जोडिन्छ चेपाङ जातिको उत्पत्तिको कथा । वाल्मीकि ऋषिको आश्रममा वनबासको समय बिताउँदा उनको लोहोरी नामको एक छोरा थिए । उनैको सन्तति मान्छन् चेपाङहरुले आफूलाई ।

त्यही वाल्मीकि आश्रममा हुर्किएका लोहोरीका सन्तानहरुले कहिलै पनि बोलीमा मृदुलता त्यागेका छैनन् । मदिराले लठ्ठ हुँदा होस् या त कठिन परिस्थितिसँग जुध्दा नै किन नहोस् चेपाङहरुको बोली र व्यवहारमा शालीनता कहिलै हटेन ।

त्यही वाल्मीकि आश्रममा हुर्किएका पुर्खाहरुले सयौं वर्ष जंगलमा नै आफ्नो साम्राज्य स्थापित गरे । जंगली फलफूलहरुलाई नै आफ्नो आहारा बनाए । शिकार कहिलेकाहीँ गर्थे अन्यथा पशुपंक्षीहरुप्रति पनि अगाध प्रेम थियो । ओढारमै कुकुर सारथि थिए । जंगली जनावरहरु बाहिरी घेरामा सुरक्षाका लागि बसेका थिए । एकापटि्टको पहरो नै उनीहरुको किल्ला थियो । तलको अनकन्टार भीरबाट कुनैपनि शक्तिले आक्रमण गर्ने थिएनन् । त्यही ओढारले नै झण्डै तीनबिस (६०) पुस्ता चेपाङलाई साथ दिएको छ ।

अहिले परिस्थिति भिन्न भएपनि ओढार नजिकै चिउरीको बोट हुन्थ्यो । त्यसैको फूललाई कुटेर अन्य प्रशोधन विधि अपनाएपछि चिउरीको घिउ बन्थ्यो । त्यही घिउबाट आफ्नो गुजारा चलाउने गरेका थिए । पहिलेदेखि नै त्यो पहाडमा घैया धान लगाउने गरिन्थ्यो । अहिलेपनि त्यो चलन जारी छ । तरकारी र खाजामा गिठ्ठा या भ्याकुर खाने चलन थियो । शहर र बजारको कुनै लोभ थिएन । केवल गुजाराको चर्खामा घुमिरहेको थियो जीवन ।

मध्यकालसम्म आइपुग्दा त्यही ओढारमाथि समेत मल्ल राजाहरुको गिद्दे नजर लाग्यो । यही विशाल नेपालमा उनीहरुलाई पनि समेट्न धेरै प्रयास भयो । ‘आफूहरुलाई जंगलमै रमाउन देऊ’ भन्ने चेपाङहरुको माग उनीहरुले सुनेनन् । त्यतिबेला सानोतिनो युद्ध नै चल्यो, शहरीया मल्ल राजाहरु र जंगलबासी चेपाङ राजाहरुबीच । उनीहरुको परम्परागत र जंगली हतियारले मल्ल राजाहरुलाई जित्न सकेनन् । त्यही समयदेखि राजाविहीन भए चेपाङहरु ।

विकाससँगै जीवनशैली परिवर्तन

पृथ्वी राजमार्ग निर्माणको बेला थियो । डोकाडाला बुनेर बेच्ने वा फलेक बनाउने काठ बेचेर आफ्नो गुजारा चलाउने चेपाङहरुको जीवनशैली दैनिकीसँगै बदलिएको छ । उनीहरुको परम्परागत जीवनशैलीको विषयमा डोरबहादुर विष्टले आफ्नो पुस्तक ‘सबैजातको फूलबारी’मा पनि उल्लेख गरेका छन् । त्योभन्दा पहिलेका चेपाङहरुको जीवनशैली जंगलबाट बाहिर गएको थिएन । जब विकासको काम सुरु भयो, त्यही समयदेखि कन्दमूल खाएर हट्टकट्टा भएका तन्नेरी चेपाङहरुले काम पाउन थाले । साथमा पैसा पनि ।

कम्मर मुनी कछाड बेर्थे, त्यही नामबाट एउटा चेपाङको त थरै ‘कछारे चेपाङ’ पनि भएको थियो ।  कसै-कसैले ‘सुनप्रजा’ भनेर पनि चिनाउने गर्छन् । अर्काे थर हुन्छ, ‘पुकुन्थली’ ।

यसरी कछाड लगाएर ज्यालादारी काममा लागेकाहरु बिस्तारै देश चिन्ने र आर्थिक रुपमा समेत सम्पन्न हुन थाले । अहिले ५२ वर्ष पुगेका लोकमान चेपाङको अनुभव छ ‘बजारमा काम गर्न जाँदा दिनभरी काम गरेको एक रुपैयाँ र धेरै पाउँदा दुई रुपैयाँ पाइन्थ्यो ।’ त्यही समयदेखि उनीहरुको जीवनशैली बदलिन सुरु भएको हो ।

विष्टका अनुसार पृथ्वी राजमार्ग बनेदेखि बदलिएको हो चेपाङहरुको जीवनशैली । चितवन जिल्लाको राप्ती उपत्यकाको पूर्व विकासको काम सुरु भएपछि त्योभन्दा तल्लो भेगमा बस्ने चेपाङहरु कोही बाटो खन्ने, कोही ज्यालादारीका अन्य काम गर्न सुरु गरे । काठमाडौंदेखि पोखरासम्म बाटो बन्न थालेपछि त झनै बलिया चेपाङहरुले आफ्नै क्षेत्रमा काम पाउन थाले । २०३६ सालको आसपासतिर मुग्लिनदेखि नारायणघाटसम्मको बाटो बन्ने भएपछि त झनै उनीहरुले कामै काम पाउन थाले । त्यही समयदेखि नै चेपाङहरु जंगलको मात्रै भर पर्न छाडेका हुन् ।

कुसुण्डा जातिसँगको दुश्मनी

कुसुण्डाहरु जनसंख्याको हिसाबले २०६८ मा २७३ जना थिए । चेपाङहरु ६८ हजारभन्दा धेरै । तर, कुसुण्डा जातिसँगको चेपाङको दुश्मनी उनीहरुको पहिलो पुस्तादेखि कै हो । यसबारे अहिलेका चेपाङहरु अनविज्ञ छन् । अहिले चेपाङहरुले कुसुण्डालाई ठकुरी दाजुभाइ मान्ने गरेका छन् । तर, जतिबेला लोहोरीको जन्म भएको थियो, त्यतिबेलादेखि नै उनीहरुबीच विद्वेष सुरु भएको हो । त्यो बेलामा सीताजी कोक्रामा लोहोरीलाई राखेर काममा जाने गर्थिन् । एक दिन कपडा धुन जाँदा खोलामा बाँदरले उनलाई बच्चा खेलाएर जिस्काइदियो । डोरबहादुर विष्ट ‘सबैजातको फूलबारी’मा लेख्छन्, ‘त्यही बाँदरलाई ईख्याउँदै उनी पनि आफ्नो लोहोरीलाई बोकेर खोलामा खेल्न थालिन् ।’

त्यत्तिकैमा यता वाल्मीकि ऋषि बाहिर निस्कँदा उनले लोहोरीलाई कोक्रामा देखेनन् । त्यसपछि सीताजी दुःखी हुन सक्छिन् भन्ने सोचेर एउटा कुशको मान्छे बनाएर वाल्मीकिले कोक्रामा राखिदिए । पछि सीताजीले लोहोरीलाई बोकेर आइन् । कुशबाट बनेको मान्छेलाई मार्न नसकेर ऋषिकै आग्रहमा उसको नाम कुशरी राखेर उनको पालनपोषण गर्न थालियो । पछि ठूला हुँदै गएपछि उनीहरु ठूला शत्रुको रुपमा चिनिए । केही वर्ष पहिलेसम्म पनि यी दुईले एकले अर्कालाई भेट्ने बित्तिकै धनुबाँणले हान्ने चलन थियो । तर, अहिले त्यो हराइसकेको छ ।

अब कोही बस्दैनन् ओढारमा