काठमाडौं ।। कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ । नेपालले पहिलो घरेलु खेलको रुपमा कुवेतसँग भुटानको थिम्पुमा खेल्न लागेको हो । नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्यूट्रल भेन्युको रुपमा भुटानमा सारिएको हो । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला खेल नेपाली समय अनुसार आज पौने ३ बजे सुरु हुनेछ । यसअघि कुवेतसँगको अवे खेलमा नेपालले ७–० को हार व्यहोरेको थियो । छनोटको समूह ‘बी’ मा नेपाल समूहको चौंथो स्थानमा छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विमल घर्ति मगरसहित चार खेलाडी एन्फाको कारवाहिमा परेको हुँदा टिममा उपलब्ध हुने छैनन् । राष्ट्रिय टिममा रहँदा रातको समयमा नाईट क्लबमा भेटिएको भन्दै एन्फाले विमल सहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई टिमबाट बाहिर राख्दै अनुशासनको कारबाही गर्ने जनाएको छ ।