रौतहट, १७ कार्तिक ।

नेपाल सन् २०२४ मा अमेरिका र बेष्ट इण्डिजमा हुने टि–२० विश्व कपको लागि क्वालिफाई गरेका छन् ।
टि–२० विश्वकप छनोट अन्तर्गत काठमाडौंको मुलपानी खेल मैदानमा भएको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटबाट हराउदै विश्वकपको यात्रा तय गरेका हुन् । फाइनलमा प्रवेश गर्ने दुवै टिम अमेरिका र बेष्ट इण्डिजमा टि–२० विश्वकपमा खेल्ने भएका छन् ।


युएईले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको योगफल तयार पारेका थिए । नेपालले १३५ रनको लक्ष्य पाएकोमा १७.१ ओभरमा दुई विकेट गुमाउदै विजयी लक्ष्य पुरा गर्दै नेपाल टि–२० विश्वकपको लागि क्वालिफाई गर्दै इतिहास रचेका छन् ।
नेपालका लागि ओपनर आरिफ शेख र कुशल भुर्तेल विच २६ रनको साझेदारी हुँदा भुर्तेल व्यत्तिगत ११ रनको स्कोरमा आउट भएर पवेलियन फर्किएपछि मैदानमा अलराउण्डरको भुमिकामा रहेका गुल्सन झा र आरिफ शेख विच ४१ रनको साझेदारी हुँदै झा व्यत्तिगत २२ रन बनाउदै टिमको ६७ रनमा दोश्रो विकेट गुमाए । झा पवेलियन फर्किएपछि क्याप्टन रोहित पौडेल र शेखले उत्कृष्ट प्रदर्शन गर्दै १७.१ ओभरमा नेपाललाई जिताएर विश्वकपको लागि क्वालिफाई गराएका छन् ।
आरिफले ५१ बलमा ६ चौक्का र दुई छक्काको मद्दतबाट अविजित ६५ रन र क्याप्टेन पौडेलले २० बलमा तिन चौक्का र एक छक्काको मद्दतबाट अविजित ३३ रन बनाए ।
यो जित संगै टि–२० एशिया छनौटको फाइनलमा प्रवेश गरे संगै विश्व कपको लागि क्वालिफाई गर्दा मुलपानीका दर्शकहरु खुशीले आतिशवाजी एवं नाँच्न थाले । किन नहोस दिपावली अघि नै नेपाली क्रिकेट टिमले दिपावली मनाउन नेपालीलाई मौका प्रदान गरेको छ । वेलडन नेपाली क्रिकेट टिम । बधाई छ नेपाली टिमका सम्पूर्ण टिमलाई ।